एकादेशको कथा

स्थिति: संसारको कुनै कुनामा एउटा यस्तो देश थीयो, जहाँ- प्रशासकहरु योजना बनाउँथे, प्राविधिकहरु प्रशासन चलाउँथे । व्यापार गर्नलाई विद्यालय खोलिन्थ्यो, चुनाव जित्नलाई असत्य बोलिन्थ्यो ।
समाचारको नाममा दलद्वारा एकपक्षीय पत्रिका चलाइन्थ्यो, सत्याग्रहको नाममा नेताद्वारा राष्ट्रिय सम्पत्ति जलाइन्थ्यो । हाकिमहरु इमान्दारिको नारा दिएर कराउँथे, दस्तुर बुझाउन नसक्नेका फाईलहरु अफिसबाटै हराउँथे ।
प्रगति: चाकडिवाजहरु पोसिन थाले, इमान्दार कर्मचारीहरु खोसिन थाले । नेताहरु देश भुली, कुर्सीमै रमाउन थाले, शिक्षकहरुले चक डस्टर छाडी झण्डा समाउन थाले । पार्टीका अयोग्यले पनि उच्च पद पाउन थाले, बुद्धिजिवी र शिक्षितहरु विदेश धाउन थाले। शहरमा उपचार महँगो भएर बिरामी मर्न थाले, जिल्लाका अस्पतालमा पिउन पालेले अप्रेशन गर्न थाले ।
परिणति: सरकारी स्कूलमा पढ्नेलाई कसैले मानेनन् , बोर्डिङमा पढ्नेले आफ्‍नै भाषा पनि बोल्न जानेनन्। देशमा विदेशी छिर्न थाले, आर्थिक स्थिति गिर्न थाले । नेताहरु आ-आफैं लड्न थाले, भ्रष्टाचार दिनदिनै बढ्न थाले। धर्म र परम्परा मैलिन थाल्यो, देशमा विदेशी संस्कृति फैलिन थाल्यो । योजनाहरु सबै मन्द भए, बिकास निर्माण बन्द भए ।
समष्टि: संसारको कुनै कुनामा एउटा यस्तो देश थियो, अहिले पनि त्यस्तै छ पचास बर्ष अगाडि जस्तो थियो


नातावाद र ज्यास्मिन क्रान्ति


अल बौवाजिजि एउटा मध्यम वर्गीय परिवारका सदस्य थिए । २६ वर्षको उमेरमा स्नातकोत्तर तहको अध्ययन सकिसकेको भए तापनि देशमा विद्यमान बेरोजगारी का कारण जीविकोपार्जन गर्न मुस्किल भए पछि उनि गाडामा राखेर तरकारीको सडक व्यापार गर्न लाग्छन्। यस्तै मा एक दिन प्रहरीले उनलाई आवश्यक कानुनी प्रक्रिया नपुर्याइ व्यापार गरेको भनेर उनको गाडा खोस्न पुग्छ। त्यहाँ सामान्य झडप समेत हुन्छ। उनि यो कुरा 'रोजगारी शाखा' मा गएर उजुरी गर्दा उनको उल्टै बेइज्जत र अपमान गरिन्छ। यसै मानसिक दबाब मा आएर उनले एउटा सरकारी भवन अगाडि गइ आत्मदाह गर्ने प्रयास गर्छन् । १८ दिनको अस्पतालको उपचार प्रयास पछी उनको निधन हुन्छ । उत्तर अफ्रिकाको टुनिसिया मा २०१० डिसेम्बर १७ मा घटेको सत्य घटना हो यो ।

यस घटना ले देश व्यापी रुपमा छरिएर रहेका गरिवी र खाद्यान्न को अभावमा बाँचिरहेका 'बेरोजगार सेना' भनिएका युवाहरूको आक्रोसको विष्फोट हुँदा यस्ले क्रान्तिको रुप लिन पुग्छ । विभिन्न रङ् भनेर आलङ्कारीक रुपमा सबै समस्याहरूलाई अँगालेको यस क्रान्तिलाई नै टुनिसियाको राष्ट्रिय फूलको नाउँमा 'ज्यास्मिन क्रान्ति' को संज्ञा दिइएको हो । 'बेरोजगारी' मुख्य समस्या भनिए तापनि समस्याको जरो देशमा विद्यमान राजनीतिक घुसखोरी, नातावाद मा आएर अडिन्छ । विशेषत राष्ट्रपति बेन अलि ले आफ्नो शक्तिको प्रयोग गर्दै अनेक आफन्तिहरुलाइ विभिन्न रुपले पोषेको त्यहाँका जनतालाइ कत्ति रुचेको थिएन। अंग्रेजीमा Nepotism भनिने सो प्रकृया हाम्रो लागी पनि नौलो पक्कै होइन। राजनीतिक नियुक्ति होस् वा सरकारी जागिरका पदपूर्तिका ठाउँमा होस् दक्ष र योग्य व्यक्तिलाई अनुभव, क्षमता का आधारमा नभइ नाता कुटुम्ब, भएन भने चाकडीको आधारमा जस्तोसुकै व्यक्तिलाई नियुक्ति गर्ने कुरा हामीले भन्दा अरु कसैले भोगेको छैन भन्दा अतिशयोक्ति नहोला। त्यसो त भारतमा गान्धी परिवारमा राजनीतिक शक्ति हस्तान्तरण, अमेरिका मा JF Kennedy का भाइको न्यायालय नियुक्ति र केहि महिना अगाडि माधव कुमार नेपालले आफ्नै भाइ बिनोद कुमार उपाध्याय लाइ हङकङको महावाणिज्य दुतको नियुक्ति जस्ता थुप्रै विश्वव्यापी उदाहरण हरु सुन्न पाइन्छ ।


विकसित राष्ट्रहरुमा यस्तो ज्यादै विरलै हुन्छ र भए पनि धेरै माथिल्लो तहमा केहि हद सम्म सबल मान्छेलाइ नियुक्ति गर्ने गरेको पाइन्छ। हाम्रो समाजमा यो रोग सुक्ष्म तह सम्म गाढिएर बसेको छ । सामाजिक क्रान्तिका जति सुकै खोक्रा भाषण गरेतापनि कुनै गौरवशाली दल र तिनका अगुवाइले देखे र भेटे जति ठाउँमा नाता कुटुम्ब घुसाउने प्रवृत्ती नहटेकै कारण समाज र देश २० वर्ष अगाडिकै अवस्थामा छन्। गाउँका खानेपानीका योजना देखि विदेश भ्रमणका विशेष टोली सम्ममा नातावाद छ्याप्छ्याप्ति देख्न पाइन्छ। व्यक्तिगत लगानीमा चलेका नाफामुलक व्यापारिक संस्थाहरूमा त यो स्वाभाविक नै हुने भयो, यदि आफ्नै कुटुम्ब मा कोही बिँडो थाम्ने उत्तराधिकारी ननिस्केमा सो संस्था स्वत निर्मुल हुने उदाहरण राजसंस्थाले दिएर गयो । त्यसैले स्थिरता का लागी पनि बरू व्यक्तिगत संस्थाहरूमा योग्यतले मान्यता पाएको होला, तर राष्ट्रसेवाको नाममा खोलिएका मन्त्रालय, कार्यालय देखि साना तिना कमिटि जो सँधै चलिरहन्छन् त्यहाँ पुस्तौँपुस्ता सम्म असक्षम व्यक्तिले गर्दा सरकारी काम कार्यालय हरु त्यती लोकप्रिय छैनन्। देश र जनता सँग प्रत्यक्ष सरोकार राख्ने पेशा सँग परिवार मिसाउने यो खेल निर्मुल भयो भने हाम्रा कति हदसम्मका समस्या समाधान हुन्छन् होला एकपटक विचार गरौँ त ? जलस्रोत को त्यत्रो उर्जा परिवर्तन गर्ने हाइड्रोपावरहरु हुँदा हुँदै किन हामी व्यक्तिगत रुपमा वैकल्पिक उर्जाको बारेमा सोच्दै छौ ?

ट्युनिसियाको हकमा भने २३ वर्ष सम्म राज गरेका त्यहाँका राष्ट्रपति बेन अलि ले १४ जनवरी २०११ मा देश छोडेर फरार भएपछि अन्तरिम सरकारको व्यवस्था गरी ६० दिन भित्रमा चुनाव गराउने तयारी हुँदैछ । आन्दोलनमा सहयोगी भूमिका खेलेका twitter, wikileaks र youtube हरुको पनि प्रमुख साझेदारका रुपमा नाम जोडिएको छ 'ज्यास्मिन' क्रान्ति सँग । सन २००९ मा राष्ट्रपति बेन अलि का ज्वाईँले अमेरिकि राजदुत लाइ भव्य भोजले स्वागत गरेको कुरा wikileaks ले सार्वजनिक गरेको थियो। पश्चिमी मुलुकमा Christmas र नयाँ वर्षको उमंगले मुख्य मिडियामा त्यती धेरै ठाउँ नपाएको ज्यास्मिन क्रान्तिले twitter मार्फत तस्विर र youtube का भिडियोहरु व्यापक रुपमा विश्वसामु पुर्याएको हुनाले यसलाइ Twitter Revolution पनि भनिएको छ। अल बौवाजिजि बाट सुरुभएको क्रान्तिमा ५० भन्दा बढी ज्यानको क्षति भएको अनुमान छ । आशा गरौँ टुनिसियाका जनताले छिटै राजनैतिक राहत पाउन र देशमा शान्ती छाओस् ।

उत्तर अफ्रिकि भेगमा अरु देशको तुलनामा शान्त, स्थिर र प्रगतिशील मानिने टुनिसिया को यस्तो अप्रत्याशित क्रान्ति सफल भएपछि विश्वमा राजनैतिक दवावले आक्रान्त र पिडित देशका जनताको आवाजले विकराल रुप लिन किन सक्दैन भन्ने त्राशले अफ्रिकाकै अन्य छिमेकी मुलुक तथा विश्वका अन्य राजनैतिक, धार्मिक, प्रशासनिक जस्ता क्षेत्रमा नातावाद हुलेर मनमौज गर्ने सामन्तीहरुको टाउको दुखाइको विषय बनेको छ।


Copyright © 2011 Rajeh Rai | Splashy Free Blogger Templates with Background Images, Trucks