परिवर्तनका चाहना र राजा पछि नेपालको भविष्य

Thursday, January 20, 2011


राजा जाँदैछन्, गणतन्त्र आउँदैछ। यो पक्कै पनि परिवर्तनको संकेत हो। तर के यो परिवर्तनले आम नेपालीलाई समेट्न सक्ला? के यसले आम नेपालीका अनगिन्ति सपनाहरूलाई पुरा गर्न सक्ला? के आम नेपालीको आकांक्षा, सपना र कतिपय पार्टी तथा व्यक्तिहरूले बढाइदिएको महत्वकाक्षी चाहनालाई सम्बोधन गर्न सक्ला? राजा ज्ञानेन्द्रको एउटा महत्वकांक्षाले २५० वर्षको राजतन्त्र धरापमा परेको छ। तर हालमा पार्टी, जाति, धर्म, क्षेत्र विशेषको नेतृत्व गर्नेहरूमा देखिएको महत्वकांक्षा र उनीहरूले आम नेपालीलाई बाँडेको असिमित सपनाहरू र महत्वाकांक्षी भावनाहरूलाई रोक्न वा पुरा गर्न सकिएला? मधेशलाई तत्काल एक प्रदेश चाहिएको छ, सेना, प्रहरी, कर्मचारी सबैतिर समान सहभागिता चाहिएको छ। कालीकोट, हुम्ला र बाजुराका आम जनतालाई भुखमरीबाट बच्ने उपाय चाहिएको छ। जनजातिहरूलाई भाषा, संस्कृति र पहिचान सहित आत्म निर्णयको अधिकार सम्पन्न राज्य चाहिएको छ। कसैलाई जातका आधारमा, कसैलाई वर्गका आधारमा, कसैलाई धर्मका आधारमा, कसैलाई क्षेत्रका आधारमा, कसैलाई ऐतिहासिक थलोका आधारमा राज्य चाहिएको छ। राज्यमात्र होइन त्यसका लागि आवश्यक पूर्वाधारहरू पनि उत्तिकै आवश्यक छ। शिक्षा, स्वास्थ्य, विजुली, पानी, बाटोघाटो, शान्ति-सुरक्षा, विकास, रोजगारी पनि सबैलाई चाहिएको छ। अनि, पार्टी र नागरिक समाजका नेता भनाउँदा तथा पत्रकार र बुझक्कड ठानिएका शहरीया पढेलेखेका सबैले गणतन्त्र आउनासाथ वा नयाँ व्यवस्था हुनासाथ यी सबै कुराहरू तुरून्त पुरा हुन्छन् भनेर अनावश्यक रूपमा एकोहोरो ढाँटिरहेका छन् र जनतालाई महत्वाकांक्षी हुन सिकाइरहेका छन्। भोलिका दिनमा यसको परिणाम भयावह हुन सक्छ भन्ने उनीहरूलाई थाहा छ तथापी सत्य कुरा बोल्न चाहिरहेका छैनन् वा भ्रमको राजनीतिमा आफुलाई र आफ्नो पार्टीलाई बलियो बनाउने खेलमै मस्त छन्।
ज्ञानेन्द्र नारायणहिटीबाट निर्मल निवासमा सर्दा काठमाडौंका जनता, पत्रकार, पढेलेखेका जमात, पार्टीका नेता-कार्यकर्ता र गणतन्त्रका पक्षधरहरूले परिवर्तनको महशुस गर्ने नै छन्। खुशीयाली मनाउने छन्, पटका पट्कने छ। जुलुस, अवीर जात्रा, पार्टी, भोज भतेर पनि होला तर नेपालका आधा भन्दा बढी जनसंख्यालाई यो परिवर्नतसँग प्रत्यक्षरूपमा कुनै सरोकार हुने छैन। रोग-भोक, गरिबी, अशिक्षा, वेरोजगारी, महङ्गी र असुरक्षालाई नयाँ परिवर्तनले कसरी हेर्ला? जनताले उनीहरूको दैनिक जीवन चर्यामा परिवर्तन आइरहेको छ र राज्यले हामीलाई हेरिरहेको छ, हाम्रो लागि काम गरिरहेको छ भन्ने महशुस कसरी गर्लान्? आशाहरू धेरै छन्। जताततै अभावका पहाड उभिएका छन्। पीडाहरू अथाह छन्। जनतालाई राज्यले दिनु पर्ने धेरै कुराहरू छन्। यसै गरिबी, अभाव, आशा, चाहनामाथि राजनीति भइरहेको छ र उनीहरूलाई बढी महत्वाकांक्षी बनाइदैछ। यसले कस्तो परिणाम ल्याउला वा यसलाई सम्बोधन गर्न सकिएला र उन्नत, सुन्दर नेपालको सृजना होला; त्यो भोलिका दिनमा हेर्न पाइने नै छ।
तर, जनतालाई आधारभुत परिवर्तनको महशुस दिलाउन सकिएन भने वा उनीहरूको महत्वकांक्षालाई कम गर्न सकिएन भने त्यसले निम्त्याउने भयावह परिणामको लागि नेपाली जनता तयार हुनु नै पर्नेछ। विगत १२ वर्षसम्म राजनीतिक पार्टीहरूले गरेका गल्तिहरूका कारण राजा ज्ञानेन्द्रको जन्म भएको हो। राजालाई गालीमात्र गरेर वा ज्ञानेन्द्रलाई हटाएर आफुले गरेका गल्तिलाई ढाकछोप गर्न मिल्दैन र पाइँदैन। जनआन्दोलनका क्रममा सुध्रने वाचा गरेका कारण राजनीतिक पार्टीहरूलाई जनताले समर्थन गरेका हुन्। तर, विगत दुई वर्षको अनुभवले पार्टीहरू र उनका नेताहरू सुध्रेको कुनै विशेष लक्षण देख्न पाइएको छैन। भोलिका दिन उनीहरूको व्यवहार कस्तो हुन्छ, त्यो हेर्न बाँकी नै छ तर बिहानीले दिनको संकेत गर्छ भन्ने मान्यतालाई विश्वास गर्ने हो भने बिहानी त्यति सुखद देखिएको छैन।
हामीले जहिले पनि हाम्रा कमजोरीलाई लुकाउन खोजेका छौं। हामीमा रहेका कमजोरी लुकाउनलाई अरूलाई दोष दिएर आफु चोखो बन्ने प्रयास गरेका छौं। हामीले हाम्रा कमजोरी, खराबीलाई लुकाएर जनतालाई झुक्याउन खोजिरहेका छौं। एमाले वा कांग्रेस हार्नुका पछाडि आफ्ना कमजोरी वा विगतका गल्तिहरूको समीक्षा पटक्कै गरिएको छैन बरू उनीहरू हार्नुको एउटै दोष माओवादीको डर-धम्की भनिएको छ। ठीक त्यसै गरि जसरी प्रजातन्त्र अपहरण गरेका राजालाई सारा देश विग्रिएको दोष लगाइयो तर आफुहरूले १२ वर्षसम्म गरेका गल्ति कमजोरीको न त कुनै समीक्षा गरियो, न त कुनै आत्मालोचना वा भविष्यमा गल्ति नगर्ने प्रतिवद्दता नै दोहोराइयो। धुँवा देखिनलाई आगो लागेको हुनु पर्छ, तर हामीले आगोका वारेमा कुनै कुरा र चर्चा गर्दैनौ तर धुँवाको वारेमा ठूला-ठूला बहस गर्छौ। राजाको कदम आफैमा अप्रजातान्त्रिक, अलोकतान्त्रिक र तानाशाही थियो तर त्यसको लागि बाटो बनाइदिनेहरूले आफ्ना कमजोरीका वारेमा आजसम्म समीक्षा गरेका छैनन्। तानाशाह जन्मिनका लागि बाटो बनाइदिनेहरूले आफुले बनाइदिएको बाटोको बारेमा बहस गर्दैनन् र त्यसलाई नराम्रो पनि ठान्दैनन् तर तानाशाहलाई गाली गरेर आफ्नो राजनीतिलाई निरन्तरता दिन खोज्छन्। त्यसैका नाममा आफुलाई चोखो बनाउने कोशिस गर्छन्।
राजा ज्ञानेन्द्रको पतनले अर्को राजा जन्मदैन भन्ने ग्यारेन्टी गर्ने जिम्मा पार्टीहरूको हो। राजा नभए, प्रजातान्त्रिक पद्दतिबाट चुनिएर आउनसक्ने अन्य तानाशाहको बाटो रोक्ने काम पार्टीहरूको हो। आफु नसुध्रने तर अरूलाई सुध्र भनेर अर्ति दिन पाइन्न। जथाभावी ‘मह’ वा गुलियो पोखेपछि त्यसमा कमिला वा किरा त लाग्छ नै। त्यसकारण आफ्ना कमजोरी, गल्तिहरूलाई केलाउने प्रयास सबैबाट हुनु पर्छ। यो काम कुनै राष्ट्रिय पार्टीको मात्र होइन, प्रत्येक संघ-संस्था, साना दल, नागरिक समाज, पत्रकार, कर्मचारी, विद्यार्थी, धार्मिक संस्था, व्यक्ति विशेष वा विभिन्न माग राखेर आन्दोलन गरिरहेका संगठनहरूको पनि हो।
बेलायतले २०० बर्ष भन्दा बढीको प्रजातान्त्रिक अभ्यास गरेर यहाँसम्म आइपुगेको छ। तथापि चुनौतिहरू समाप्त भइसकेका छैनन्। भारत पनि ५० वर्षको प्रजातान्त्रिक अभ्यासपछि यो अवस्थामा आइपुगेको छ र आर्थिक उन्नती गर्दैछ तर त्यहाँ पनि तमाम समस्याहरू छन्। ५० वर्ष पछि पनि जात, धर्म वा सम्प्रदायको नाममा झगडा, दंगा हुँदैछन्। आरक्षण पाउनु पर्ने र दिन नहुनेमा अहिले पनि मारामार चलिरहेकै छ। भाषिक, जातीय, लैङ्गिक वा वर्गीय विभेदलाई सम्बोधन गर्न सकिएको छैन जसले गर्दा भारत सरकारले चाहे जति प्रगति गर्न सकेको छैन। शिक्षाको हालत केही दक्षीणी राज्यलाई छाडिदिने हो भने नाजुक नै छ। धर्म, क्षेत्र वा भाषाका नाममा हुने राजनीतिले भारतलाई खोक्रो पारेको छ। केही अगाडि जयपुरमा भएको बम विस्फोटको घटनालाई लिएर बंगलादेशीहरूलाई भारतबाट खेदिदैछ र त्यसको मारमा केही भारतीय बंगालीहरू पनि परेका छन्। भाजपा यसको दोष मुसलमानहरूलाई लगाएर कडा सुरक्षा व्यवस्था पार्नु पर्ने र कडा कारवाही तथा व्यवहार गर्नु पर्ने माग गर्दछ। तर प्रदिप बोस जस्ता ‘समाज विज्ञान’का धुरन्धरहरू भने बढ्दो दक्षीणपन्थी कट्टर हिन्दूत्व र बाबरी मस्जिद, गुजरात काण्ड जस्ता घृणित कामले कतिपय मुसलमान युवाहरू राष्ट्रिय मुख्य धाराबाट बाहिरिएको र उनीहरूलाई अरू कसैले प्रयोग गरिरहेको हो भन्ठान्छन्। उनीहरूका विषयमा ‘विदेशी हात, आतंकवाद वा मुसलमान भनेर फत्फताउन जरूरी छैन, बरू ती युवाहरू किन बाहिर गए, कसका कारणले गए र कसरी राष्ट्रिय मुलधारमा ल्याउन सकिन्छ त्यसको समीक्षा गर्न जरूरी भएको र आफैमा भएको कमजोरी र आफुले गरेका गल्तिहरू केलाउनु पर्ने सुझाव दिन्छन्।
हुन पनि भाजपाले आफुले गरेका कैयौं गल्तिलाई ढाकछोप गर्छ र अरूलाई दोष देखाएर आफ्नो राजनैतिक स्वार्थ पुरा गर्छ। यही परम्परा नेपाली राजनीतिमा पनि भित्रीरहेको छ। ‘बुढी मरी भनेर चिन्ता गर्नु भन्दा पनि काल पल्क्यो भनेर चिन्ता मान्नु पर्ने स्थिति आइरहेको छ। गल्ति हुन्न भन्ने होइन, तर गल्ति महशुस गर्न सक्नु पर्छ र ती गल्ति नदोहोर्याउने प्रतिवद्दता जनाउन सक्नु पर्छ र आफुलाई सुधार्दै लग्न सक्नु पर्छ। आफ्ना कमी कमीजोरीहरू केलाउन र गल्ति भएको भए स्वीकार्न सक्नु पर्छ। अरूलाई गाली गरेर, अरूलाई दोष दिएर र आफुलाई निर्दोष देखाएर समस्याको समाधान हुँदैन। आफुलाई पनि इतिहासको कठघरामा उभ्याएर परीक्षण गर्न सक्नेहरूले नै देश हाँक्न सक्छन्, जनताको मन जित्न सक्छन्। क्षणिक प्रगति वा सत्ता प्राप्तिका लागि गरिने राजनीतिले दीर्घकालीन रूपमा देश र जनतालाई घाटा बाहेक केही हुने छैन।

0 comments:

Post a Comment

Copyright © 2011 Rajeh Rai | Splashy Free Blogger Templates with Background Images, Trucks